काठमाडौं - नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका हुन् । परराष्ट्रमन्त्री साउदले आइतबार राष्ट्रपति निवास सितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरे ।
साउद कञ्चनपुर- २ बाट निर्वाचित सांसद् हुन् । यसअघि उनी सिंचाइमन्त्री भएका थिए । कांग्रेस नेता शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछी सभापति देउवाले परराष्ट्रमन्त्रीका लागि साउदलाई पठाएका हुन् ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्रीमा नन्दा चपाईले शपथ लिएकी छन् । चपाई नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय सभा सदस्य हुन् ।
योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आठौं पटक मन्त्रिपरिषद् विस्तार भएपनि सरकारले पूर्णता भने पाएको छैन ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैको औपचारिक विदेश भ्रमण हुँदैछ । प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहेको छ भने राष्ट्रपति पौडेल बेलायती राजा चाल्स तृतीयको राज्यभिषेक समारोहमा सहभागी हुन जाँदैछन् । प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणको तयारी गर्ने बेलामा परराष्ट्रमन्त्री नहुँदा गलत सन्देश जान सक्ने भन्दै प्रचण्ड र देउवा साउदलाई परराष्ट्रमन्त्री बनाउन सहमत भएका हुन् ।
लामो समयसम्म परराष्ट्रमन्त्री नहुँदा अन्तर्राष्ट्रिय छवी र भ्रमणको तयारीमा समेत असर गर्न सक्नेतर्फ प्रचण्ड र देउवाबीच छलफल भएको थियो । साउदलाई परराष्ट्रमन्त्री बनाएपनि प्रधानमन्त्री दाहालसँग अझै पाँचवटा मन्त्रालय छन् ।
कानुन न्याय तथा संसदीय मामिला,युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालकै काँधमा छ । नेपाली कांग्रेसका नेता कोइरालाले मन्त्री बन्ने आफू पक्षका नेताहरूको नाम नदिँदा मन्त्रिपरिषद् विस्तारमा सकस भएको छ ।
जसपाले समेत मन्त्री बन्ने नेताहरूको नाम प्रधानमन्त्रीलाई दिएको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं बारा–२ को उपनिर्वाचनमा उम्मेदबार बनेका छन् । अब उपनिर्वाचनको परिणाम सार्वजनिक भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।
0 comment