काठमाडौं - मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा १२७ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।
बुधबार खुल्लातर्फ विज्ञानको परीक्षामा मोरङको ग्रामथानस्थित सरस्वती माविबाट एक नक्कली परीक्षार्थी पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले निगरानी बढाएको छ ।
प्रहरीका अनुसार बिहीबार परीक्षा केन्द्रमा सुक्ष्म ढंगबाट निगरानी बढाउँदा १९९ जना नक्कली विद्यार्थी पक्राउ परेका हुन् । यससँगै परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
पक्राउ परेका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भएपनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको छ ।
मोरङका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख टंक गौतमले पक्राउ परेका नक्कली परीक्षार्थी र सम्बद्ध सक्कली परीक्षार्थीलाई कानुनी कारबाही हुने बताए ।
0 comment