काठमाडौं - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले राम्रो काम गरी देशको ऋण तिर्ने मनसाय रहेको बताएका छन् ।
शुक्रबार मन्त्रालयको कार्यभार सम्हालेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका मन्त्री राईले भने, ‘यहाँहरुको सहयोग पाए केही राम्रो काम गरेर देश र जनताको ऋण तिर्न पाए हुन्थ्यो भन्ने लागेको छ । यहाँहरुको सहयोग भएन मन्त्री एक्लैले गरेर केही पनि हुँदैन ।’
चौथो पटक मन्त्रीको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका मन्त्री राईले नेतृत्वको भूमिका बुझेर निर्वाह गर्ने प्रयत्न गर्ने बताए । उनले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा सुधार गर्न र शिक्षाको गुणस्तर अझ वृद्धि गर्न सबै मिलेर काम गर्नुपर्ने बताए ।
मन्त्री राईलाई मन्त्रालयका सचिवद्वय रामकृष्ण सुवेदी र प्रमिलादेवी बज्राचार्यसहित उच्च अधिकारी तथा कर्मचारीहरुले सिंहदरबारस्थित मन्त्रालयमा स्वागत कार्यक्रम राखेका थिए । सो क्रममा सचिव सुवेदी र बज्राचार्यले मन्त्रालयले गर्दै आएको कामहरुबारे मन्त्री राईलाई संक्षिप्तमा जानकारी गराएका थिए ।
0 comment