काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म टिक्ने बताएका छन् । 

न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटनको अवसरमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठ्यारो भएको बताएपछि प्रचण्डले त्यसको जवाफ दिँदै  भने,'मलाई विश्वास छ कि यो सरकार पाँच वर्षसम्म जान्छ । परिवर्तनलाई संस्थागत गर्नु अहिलेको मुख्य दायित्व हो । ’

जनयुद्धको जग र ऐतिहासिक जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको नयाँ संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको उनको भनाइ छ।

प्रचण्डले भने,‘स्थानीय तहहरूले संविधान,संघीय कानुनहरू र प्रदेश कानुनहरूसँग नबाझिने हदसम्म कानुन निर्माणको अधिकार समेत राख्दछन् । यो व्यवस्था विगतका परम्परा र अनुभवभन्दा पृथक मात्र छैन, विश्वका लागिसमेत प्रेरणादायी छ ।’

संविधानले व्यवस्था गरेअनुरुप राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूहरूसामु रहेको बताए ।

वर्तमान सरकार संघीय शिक्षा ऐन,संघीय निजामती ऐनलगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको बताए । प्रचण्डले भने, ‘कतिपय संघीय कानुनहरूसमेत एकाअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधानका निम्ति केन्द्र सरकारले समन्वयकारी भूमिका खेलिरहेको छ ।  ऐनहरूले निर्माण र संशोधनको प्रक्रिया पूरा हुँदा हाम्रो संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्नेछ ।’