काठमाडौं - नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले मन्त्रिपरिषदमा सम्मानजनक संख्यामा सहभागिता पाए साथ सरकारमा जाने भएको छ।

पार्टी सभापति निवास धुम्बाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्यामा सहभागिता पाए छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो। 

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषदमा दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले सम्मानजनक संख्यामा सहभागिता पाउनुपर्ने बताए। उनले कांग्रेसले पाउने संख्या र मन्त्रालयका विषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसँग छलफल गर्ने र टुंगो लागेपछि नाम पठाउने जानकारी दिए। 

सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। 

त्यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय गरेको महतले बताए।