काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन्।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले भने, ‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ । केही साथीहरु भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही पद दिएको छैन। जे पाएको छु, लडेर पाएको छु। साथीहरुको माया र शुभेच्छाले अगाडी बढेको छु।’
महामन्त्री थापाले जनताको असन्तुष्टी र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताए। आजभन्दा भोलीको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न उनले सुझाव दिए।
आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्ने उनले जिकिर गरे। विसं २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको महामन्त्री थापाले बताए।
0 comment