काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुले चाहेको भए राष्ट्रपति हुन सक्ने बताएका छन् ।
राजधानीमा आयोजित पार्टी निकट भूतपूर्व सैनिक तथा प्रहरीको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष नेपालले भने,‘नेपालको राजनीतिमा जहिले पनि कोर्स करेक्सन गर्न हामीले भूमिका खेल्यौं । हाम्रो हैसियतलाई कसैले कम आँक्ने काम नगरुन् । हाम्रो शक्ति १० वटा भएपनि हामी निर्णायक हुन सक्छौं । प्रधानमन्त्री ज्यू ख्याल रहोस् तपाईसँग १० वटा पार्टी छन् । मैले २२ वटा पार्टी मिलाएर झण्डै २ वर्ष मुलुक चलाएँ। हामीले चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति हुन सक्थ्यौं । त्यस्तो गरेको भए धोकेबाज त हुन्थ्यौं होला । इज्जत र प्रतिष्ठाभन्दा ठूलो कुरा केहि होइन । ’
नेपालले नेपालको राजनीतिले एउटा दिशा समातेको बताए । नेपालले भने,‘अहिले पनि राजा आउ देश बचाउ भन्नेहरू छन्, राजतन्त्र पुर्नस्थापनाको कुरा आइरहेको छ । के नेपालमा कुनै राजा गतिला छन् ? भ्रष्टाचारबाट मुक्त छन्, जोगी सन्यासी भएर आएका छन् ? दारी पालेको देखेकोलाई जोगी नभन्नुहोला भोगी हुन् । त्यागी हुनुहुन्छ भने नेपालको राजनीतिक विकृति हल गर्न सँगै जाऔं । सुशासन कायम गर्न लागौं । ’
देशको राजनीतिक कोर्स जहिले पनि परिवर्तन हुने गरेको उनले बताए । नेपालले भने,‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेका हौं । राजतन्त्र उन्मुलन गरेर देशको राजनीतिक कोर्स चेन्ज गर्यौं । पार्टी एकताको लागि त्याग गर्न तयार हुनुपर्छ । विभिन्न पार्टीविरुद्ध गलत प्रवृत्ति रोक्न जुध्नै पर्छ । समाजलाई परिवर्तन गर्न कम्युनिस्ट पार्टी चाहिएको छ । समाजवाद युद्ध चाहिने व्यवस्था होइन । समाजवाद सबैभन्दा उत्कृष्ठ व्यवस्था हो । ’
नेपालले पार्टी भित्रको आन्तरिक कमजोरीले चौथो स्थानमा खुम्चिनुपरेको बताए । नेपालले भने, ‘अहिलेको निर्वाचनमा हाम्रो पार्टीले प्रत्यक्ष निर्वाचनको हिसाबमा भन्ने हो भने चौथो स्थान हाँसिल गरेको छ । समानुपातिक समेतको जोड्दा भने हाम्रो पार्टी हाम्रै कारणले सातौं स्थानमा छ । थ्रेस होल्ड पार गर्न गाह्रो हुने थिए । हामीसँग एक लाख ३६ हजार संगठित सदस्य छन् । एक सदस्यले तीनजनालाई मात्रै मोटिभेट गर्न सकेको भए थ्रेस होल्ड कट्न गाह्रो पर्थेन । अलिकति मिहिनेत गरेको भए जसपा,राप्रपा र रास्वपालाई जित्ने थियौं । ’
0 comment