काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन्।
नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम बमोजिम मुख्यमन्त्री जमकट्टेलले आफुमाथि प्रदेश सभाको बहुमत सदस्यहरूको विश्वास छ भनी सदनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावको विपक्षमा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको १७ मत परेको थियो। त्यस्तै राप्रपाले ७ मत तटस्थमा मतदान गरेको थियो। प्रदेश सभामा उपस्थित ९१ जना प्रदेश सभा सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री जम्मकट्टेललाई मत दिएका थिए।
मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद्हरूले जमकट्टेललाई मत दिएका हुन्।
यससँगै जमकट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ। कूल ११० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा कांग्रेसको ३७, माओवादी केन्द्रको २१, नेकपा एमालेको २७, नेकपा एकीकृत समाजवादीको ७, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको २ र नेपाल मजदुर किसान पार्टीको ३ जना सांसद् रहेका छन्।
नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। मतदान अघी प्रदेश सभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता जगननाथ थपलियाले आफ्नो पार्टी सरकारबाट बाहिरिएको जानकारी गराए।
२५ पुसमा माओवादी केन्द्रका नेता जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए। सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ। गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। नेपाली कांग्रेस सहभागी नभएपछि विश्वासको मत लिने कार्यक्रम आजका लागि लागि सारिएको थियो।
0 comment