काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सम्मानजनकरूपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।
बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनकरूपमा सरकारमा सहभागी हुने निर्णय गरेको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए।
सम्मानजनकरूपमा सरकारमा सहभागीताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको भण्डारीले बताए। उनले चुनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले विभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले ५ वर्ष गठबन्धनको सरकारले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने बताए।
बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उनले बताए। अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा भने पार्टीले आफू अनुकूलको तयारी गर्ने भण्डारीको भनाइ छ।
बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन पुर्नगठनका साथ संगठन सुदृढीकरणमा ध्यान दिने निर्णय गरेको भण्डारीले बताए।
0 comment