काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने बताएका छन्।

मंगलबार गोरखा पुगेका प्रचण्डले भने, ‘हिजो विश्वासको मत प्राप्त भएपछि एउटा राजनीतिक वातावरण बनेको छ, एउटा लय पक्रिएको छ । अब सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । प्रदेश सरकार पुनर्गठन गर्ने, प्रदेशमा आलोपालो प्रणालीमा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि थप विकास निर्माणको काम अघि बढाउने योजनामा छौं। संघ, प्रदेश र स्थानीय सरकारबीच विकास निर्माण र समन्वयका लागि बृहत्तर बैठकको आयोजना गर्ने तयारीमा छौं । आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ।’

अबको जिम्मेवारी देशलाई सुशासन,सामाजिक न्याय,समृद्धिको नयाँ अभियानतिर लैजाने रहेको र त्यसको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएको प्रचण्डले बताए । ‘छिटोभन्दा छिटो सेवा दिएर जनताको विश्वास जित्ने शंकल्प लिएका छौं,'उनले भने ।