काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सतप्रतिशत सांसदको विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले यसअघि विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत आशा गरेपनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको बताए।
पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सोही महिनाको २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एमाले सरकारलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिएपछि प्रचण्ड पुन:विश्वासको मत लिन लागेका हुन्।
१० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेको हो।
१० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी,जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन्।
0 comment