काठमाडौं - आगामी चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागी चार जनाको उम्मेदवारी दर्ता भएको छ।
नेकपा एमालेबाट एक जना, जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी दर्ता भएको हो। जसपाबाट रामसहाय यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन्। १० दलीय गठबन्धनको आज बिहान बसेको बैठकमा उम्मेदवारमा सहमति हुन नसकेपछि जसपा र जनमतले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्।
जसपाका संसदीय दलका नेतासमेत रहेका रामसहायको प्रस्तावकमा नेपालीका कांग्रेसका रमेशजंग रायमाझी, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ, जसपाका अशोककुमार राई र प्रदिप यादव रहेका छन्। समर्थकमा नेपालीका कांग्रेसका खिमलाल देवकोटा, अम्बिका काफ्ले, नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी,प्रकाश ज्वाला र जसपाका रेखा यादव रहेका छन्।
जसपाकै प्रमिलाको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमारसिंह यादव, नवलकिशोर शाह, दिपक कार्की, राजकिशोर यादव रहेका छन। यस्तै समर्थकमा नेपाली कांग्रेसका अनिता देवकोटा, सिता गुरूङ, नेकपा माओवादी केन्द्रका विमला सुवेदी, नेकपा एकीकृत समाजवादीका जयन्ती राई र जसपाका मनिष सुमन रहेका छन्।
जनमतका ममता झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अभिराम शर्मा, रुपाकुमारी यादव रहेका छन्। यस्तै, समर्थकमा गोमालाभ सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुसवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन्। जनमत पार्टीका अध्यक्ष सिके राउतले झालाई जनमत,लोसपा,नागरिक उन्मुक्तिलगायत अन्य पार्टीको समर्थन रहेको बताए।
यस्तै, एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता भएको छ। पूर्व मुख्यमन्त्रीसमेत रहेकी शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, सचिव छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन्।
समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवति न्यौपाने र यशोदा रिजाल रहेका छन्। उनी बागमती प्रदेशको मुख्यमन्त्री समेत भइसकेकी छन्।
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा पनि राष्ट्रपतिभन्दा फरक समुदाय वा लिंगको हुनुपर्ने उल्लेख छ।
0 comment