काठमाडौं - चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब १७ करोड रुपैयाँ बराबरको सिमेन्ट भारत निर्यात गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो।
सात महिनामा दश करोड ६३ लाख ७७ हजार रुपैयाँ बराबरको क्लिङ्कर र ६ करोड ६ लाख ५६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ। विभागका अनुसार सो अवधिमा १ लाख ५१ हजार १५८ टन क्लिङ्कर र १ लाख ५३ हजार ४९३ टन सिमेन्ट निर्यात भएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा गर्दै आएका छन्। गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ देखि अर्घाखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो।
दुई सिमेन्ट तथा एक स्टिल निर्यात गरेका व्यवसायी भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन्।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, स्टिल लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो।
सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको जनाएको छ। भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ। नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्छ।
सिमेन्ट उत्पादक सङ्घको तथ्याङ्कअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन्। तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन। यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन छ।
निर्यात र विद्युत् महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित भएका छन्। सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन्।
नेपालमा भने बजारमा माग नहुँदा अधिकांश सिमेन्ट उद्योगले क्षमताको आधाभन्दा पनि कम उत्पादन गर्दै आएका छन्।


0 comment