काठमाडौं - वाणिज्य बैंकहरुले आगामी चैत १ गतेदेखि ब्याजदर घटाउने भएका छन्। 

आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

आगामी चैत १ गतेदेखि निक्षेपमा ०.चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए। उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताए।

हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए। अब १ प्रतिशत घटेपछि आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन्। यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन्। यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो।

मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ। हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्। यस्तैगरी, संस्थागततर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ।

बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउन चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेको हो।