काठमान्डौ,
रक्सीले मानिसलाई कस्तो असर गर्छ भन्ने कुरामा उसको मानसिक स्थिति र मनोविज्ञानको ठूलो हात रहन्छ । अर्थातः उसले के उद्देश्यले पिउछ, कहाँ र कहिले पिउछ, कसको संगतमा पिउछ जस्ता परिस्थितिमा भर पर्दछ । जस्तो चोरी गर्ने उद्देश्यले पिएको हो भने चोरी गर्ने मनोबलमा बृद्धि भई चोरी गर्ने काममा नै लाग्दछ । झगडा गर्ने उद्देश्यले पिएको हो भने झगडा गर्ने काममा अग्रसर हुन्छ । ठाउँ र समय अनुसार पनि यसको असरमा भिन्नता आउँछ । जस्तो हिमालमा जाडो मौसमो बेला धेरै पिउँदा भिन्नै असर र तराईमा गर्मी मौसमको बेला थोरै पिउँदा पनि भिन्नै असर गर्दछ । साँझको तुलनामा दिउँसो पिउनु अनुपयुक्त र बढी असर गर्ने हुन्छ । संगत अनुसार पनि यसको असरमा भिन्नता हुन्छ । कम बोल्ने, आफूलाई नियन्त्रण गर्न खोज्ने र सभ्य कहलिएका मान्छेहरुसँग पिउन बस्ने हो भने उनीहरुकै अनुसार चल्नु पर्ने अवस्था आयो भने त्यति अनावश्यक र कु–कृत्यहरु हुन पाउँदैनन् । तर भड्यौलो मच्याउने, दुव्र्यवहार नगरी नछाड्नेहरुसँग पिउन बस्दा उनीहरुले जे गर्छन् त्यस्तै गर्नुपर्ने बाध्यता समेत हुने गर्दछ ।
रक्सी पिउनु अघि पिउनेको अवस्था कस्तो छ ? मनमा दुःख, पिर छ कि वा हर्ष, उल्लास छ ? यस्तो उत्तेजित अवस्थामा मानिसले प्रायः छिटो–छिटो पिउने गर्छ र त्यसलाई तत्कालिन असर छिटै पर्दछ । पिउने मान्छेको शरीर ठूलो भएमा कम असर पर्ने र सानो शरीर भएमा धेरै असर पर्ने पनि हुन्छ । त्यसै गरी पेटमा भर्खर खाना खाएको छ भने रक्सी रगतमा ढिलो पुग्ने भएकोले असर पनि ढिलै पर्दछ । तर खालि पेटमा पिउँदा रक्सी रगतमा ढिलो पुग्ने भएकोले असर पनि गएर छिटो असर पार्दछ । त्यसैले मानिसहरु थोरै रक्सीले धेरै नशालु काम गरोस् भनेर खालि पेटमा खाने चलन पनि छ । यिनै विविध कारणले गर्दा रक्सी कतिसम्म पिउँदा मानिसलाई असर गर्छ वा गर्दैन भन्ने कुरा अहिले सम्म किटान गर्न सकिएको छैन । जेहोस् रक्सीले असर भने गर्दछ ।
0 comment