काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो। लामिछानेले युएइमा क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले खेलकुद गतिविधिमा सहभागी भएर १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिएको छ। 

सर्वोच्चले लामिछानेलाई विदेश जाने अनुमति दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई युएई पठाउन प्रक्रिया थाल्ने भएको छ। 

क्यानका कार्यबाहक सदस्य दुर्गा पाठकले टिम व्यवस्थापकसँग छलफल अगाडि बढाएको बताए। उनले सकेसम्म छिट्टै युएई पठाउने बताए। 'सकेसम्म छिट्टै युएई पठाउने हाम्रो योजना हो। यसका लागि हामीले टिम व्यवस्थापकसँग छलफल गरिरहेका छौं,' उनले भने। 

युएईमा नेपाल, युएई र पीएनजी सम्मिलित त्रिदेशीय शृखंला सुरु भएको छ। नेपालमा राम्रो प्रदर्शन गरेपछि क्यानले सन्दीपलाई युएई भ्रमणमा लैजाने तयारी गरेको थियो। 

क्यानले त्यसको जिम्मेवारी लिनेसमेत अदालतमा अपील गरेको बताइएको छ। यसअघि जिल्ला अदालत काठमाडौंको आदेशका कारण सन्दिप युएई जान रोकिएका थिए।