काठमाडौं - विराटनगर महानगरपालिका-१९ की २८ वर्षीया प्रियंका सुनारको हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले हत्यामा संलग्न भएको आशंकामा मोरङको कटहरी गाउँपालिका-५ का ३५ वर्षीय उमेश सरदार र विराटनगर-७ का ५३ वर्षीय श्रीराम चौधरीलाई सोमबार दिउँसो पक्राउ गरेको हो। त्यसअघि कटहरी-५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर-१९ का २९ वर्षीय रमेश साह पक्राउ परेका थिए।
हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका-२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमबार दिउँसो १२ बजेतिर फेला परेको थियो। घरको आँगन जोडिएको ग्वालीमा शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ।
शरीरभरि चोटपटक रहेका कारण हत्यापछि प्रियंकाको शव बोरामा पोको पारेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव ग्वालीमा फालेको आशंका छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार सुरुमा रामानन्द र रमेशलाई पक्राउ गरिएको र थप अनुसन्धान अघि बढाउने क्रममा उमेश र श्रीरामलाई पक्राउ गरिएको हो। हत्यामा उनीहरुको संलग्नता भने यकिन भइसकेको छैन।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए।
0 comment