काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ तर यतिवेला राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरेको देखिन्छ।   

गत निर्वाचनमा मोर्चाबन्दी गरेर एमालेविरुद्ध निर्वाचनमा लडेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा पुनः माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरीरहेको छ । 
यस अगाडि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायतका नेताहरुले विभिन्न चरणमा छलफल गरेका छन् । कांग्रेसले माओवादी केन्द्रसँगको सहमतिमै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने तयारी गरिरहेको छ । केन्द्रदेखि प्रदेशसम्म सत्ता बाहिर रहेको कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुन  ः बिउँत्याउन सक्दो प्रयास गरिरहेको छ।

उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि माओवादी केन्द्रको मतभार निर्णायक देखिन्छ ।  

गत पौष १० गते प्रधामन्त्री माओवादी र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो। पुस २६ मा कांग्रेससहित २ सय ६७  सांसद्बाट विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ । पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ। 

मंगलबार अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन तोडिने संकेत गरेका छन् । ‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने,’ उनले संकेत गरे, ’संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ । यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ भनेका छन् ।