काठमाडौं - म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो ।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल प्रतिसेकेन्ड आठ लिटरका दरले मात्र पानी आपूर्ति भइरहेको छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।
बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने डाँडाखर्क र रिठाखर्कका मुहानबाट बेनीमा पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन क्षतिग्रस्त भएको छ । बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्न थालिएको छ ।
“कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिरहेका छौँ । तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउने तयारीमा जुटेका छौँ,” अध्यक्ष गिरीले भने, “राहुपारेसम्म पानी सञ्चालन भइरहेको पाइपलाइनको राहुपारे–गलेश्वर खण्ड पुनर्निर्माण गर्ने र बेनी बजार क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ ।”
प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द छ । मागअनुसार पानी आपूर्ति हुन नसकेपछि बेनीको रेडक्रस मार्गका बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन् ।
स्थानीयवासी दिनेश जिसीले आलोपालो प्रणालीबाट वितरण गरिएको पानीले नपुगेपछि निजी मुहानबाट पानी ल्याउनुपरेको बताए । खानेपानीको अभावले बजारवासीका साथै विद्यार्थी, पेसाकर्मी र व्यवसायीसमेत प्रभावित भएका छन् । यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, बौद्ध युवा क्लबलगायतका सङ्घसंस्थाले ट्याङ्कर र ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए ।
अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी गरिएको अध्यक्ष गिरीले बताए । अल्पकालीन विकल्पका रूपमा रिठाखर्क मुहानको पानी आपूर्ति गर्ने तथा मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा लिफ्ट प्रविधिबाट पानी तानेर वितरण गर्ने वैकल्पिक स्रोत सञ्चालनका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारिएको छ ।
गत साता बेनी आउनुभएका नेपाल सरकारका पूर्वाधारमन्त्री सुनिल लम्सालसमक्ष संस्थाका पदाधिकारीले खानेपानी आयोजना पुनर्निर्माण तथा सुधारका लागि बजेट व्यवस्था गर्न प्रस्ताव पेस गरेका थिए । मन्त्री लम्सालले तत्काल बजेट व्यवस्था गरी ठेक्कामार्फत बेनी खानेपानी योजनाको पुनर्निर्माण गरिने प्रतिबद्धता जनाएका थिए।


0 comment