काठमाडौं - संसदीय सुनुवाई समितिले विभिन्न १३ देशमध्ये १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । बुधबार बसेको समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा निश्‍चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत  कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत  चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा र जर्मनीका लागि प्रस्तावित राजदूत  सरू जोशीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

साथै बैठकले इजरायलका लागि  प्रस्तावित राजदूत सुरेश कुमार कर्णको नाम अनुमोदन ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रस्तावित राजदूत  प्रा डा संगम श्रेष्ठ,  स्पेन अधिराज्यका लागि प्रस्तावित राजदूत प्राप्‍ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा मंचला कुमारी झाको नाम अनुमोदन गरिएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।  बैठकले साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मतले अस्वीकृत गरेको छ ।