काठमाडौं - नेपाल टेलिकम र हुलाक सेवाबीचको सहकार्यमा हुलाक सिम सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

बुधबार सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले औपचारिक रुपमा हुलाक सिम सेवाको शुभारम्भ गरेका हुन् । हुलाक सिम सेवा सुरु भएसँगै अब सिम लिनका लागि टेलिकमको कार्यालय पुग्नुपर्ने बाध्यता हटेको मन्त्री तिमिल्सिनाले बताए ।

 उनले सिम घरसम्म पुर्याउने र त्यसपछि सिम प्रयोग गर्न दिने भन्ने उद्देश्यसहित यो प्रक्रिया अघि बढाइएको धारणा राखे । प्रि–पेड सिम कार्डको अनलाइन डेलिभरी सुरु भइसकेको भन्दै उनले अब पोस्ट–पेड सेवा शुभारम्भ गर्ने तयारी भइरहेको उनले बताए । हुलाक मार्फत सिम लिने प्रक्रियामा प्रविधिमैत्री र झण्झटमुक्त तरिकाले कागजातहरू संलग्न गरेर अनलाइन आवेदन फारम भर्न सकिने मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

एप्लिकेसन सिस्टममा रजिस्टर गरेर फारम भरेपछि नेपाल टेलिकमको एडमिनले डकुमेन्ट रिभ्यु गरी प्रमाणित गरेपछि क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ । भुक्तानी भइसकेपछि हुलाकका प्रतिनिधिहरुले नजिकैको टेलिकम अफिसबाट सिम कलेक्सन गरेर सेवाग्राहीलाई पुर्याउने र यसको स्टेटस ट्र्याक गर्न मिल्ने राम्रो व्यवस्था गरिएको हुलाक सेवा विभागले जानकारी दिएको छ ।