काठमाडौं - फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडानका लागि सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेको छ ।

सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेको हो ।

टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एण्ड ट्राभल्स व्यवसायीमा पनि उडान नियमित हुनेमा आशा जागेको छ । यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेष्टुराले विभिन्न सहुलियत योजना ल्याएका छन् । फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरू गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए । फ्लाई दुबईको उडान सुरू भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ । त्यसबाट दीर्घकालिन रुपमा पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ ।