काठमाडौं - नेपाल–भारत सीमावर्ती नाका काँकडभिट्टा–पानीट्यांकीस्थित नयाँ पुलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१औँ बटालियनको बीआईटी टोलीले आइतबार दिउँसो ४ः१० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको सवारीसाधन जाँचका क्रममा पेस्तोल, म्यागजिन तथा गोलीसहित सिक्किमका ताशी पाल्की भुटियालाई पक्राउ गरेको हो। सिक्किमबाट आएका भुटिया एसके ०२ पी ४८०० नम्बरको गाडी चढेर नेपाल प्रवेश गर्न लागेका थिए।
जाँचका क्रममा भुटियाको झोला खानतलासी गर्दा ०.३२ क्यालिबरको एक थान पेस्तोल, दुईवटा म्यागजिन, ७.६५ एमएमका ४९ राउन्ड गोली र एक थान खोका बरामद भएको एसएसबीले जनाएको छ। यता भुटियाले आफू ‘गुरुजी’लाई लिन काँकडभिट्टा नाकासम्म जान लागेको बताएका थिए। तर, उनले पेस गरेको हतियारको इजाजत पत्रमा उक्त पेस्तोल सिक्किम र पश्चिम बंगालमा मात्र प्रयोग गर्न पाउने उल्लेख रहेको पाइएको छ।
सोही कारण हतियारलाई अन्य क्षेत्रमा लैजान नमिल्ने देखिएपछि उनलाई नियन्त्रणमा लिइएको एसएसबीले जनाएको छ। एसएसबीले हतियारसहित पक्राउ परेका भुटियालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि खोरीबारी प्रहरी थानामा बुझाइसकेको छ।


0 comment