काठमाडौं - मोरङको जहदा गाउँपालिका–१ कुडरियामा सशस्त्र प्रहरीले ८४ किलो ८५० ग्राम गाँजा बरामद गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि बाटोमा हिँडिरहेका व्यक्तिहरू बोरा छाडेर भागेका थिए ।

उक्त बोराबाट गाँजा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल बीओपी तारेगामाबाट खटिएको टोलीले सोमबार बिहानका राति ३:१० बजेतिर कुडरिया क्षेत्रमा गस्ती गरिरहेको थियो । सो क्रममा टाउकोमा बोरा बोकेर हिँडिरहेका केही व्यक्तिमाथि शंका लागेपछि टोलीले रोक्न खोजेको थियो । तर,प्रहरीलाई देख्नेबित्तिकै उनीहरू बोरा फालेर फरार भएका थिए ।

गस्ती टोलीले छाडिएको बोरा खोलेर चेकजाँच गर्दा प्रतिबन्धित गाँजा फेला पारेको थियो । तौल गर्दा बोराभित्र ८४ किलो ८५० ग्राम गाँजा रहेको खुलेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । 

गाँजा छाडेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।