काठमाडौं - सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार राति इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट तीनजना पक्राउ परेका हुन्।
लौकही बजारबाट इनरुवातर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी,२० वर्षीय तोरण माझी र ३० वर्षीय मनिस माझीलाई चेकजाँच गर्ने क्रममा तोरण माझीको मलद्वारमा लुकाएर राखिएको अवस्थामा ब्राउन सुगर ५.४९ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
आइतबार राती नै धरान उपमहानगरपालिका–१९ गैरीगाउँबाट प्रहरीले लागुऔषधसहित अर्का एकजनालाई पक्राउ गरेको हो। लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको टोलीले २३ वर्षीय पुजन श्रेष्ठको घरकोठा खानतलासी गर्दा ब्राउन सुगर १.१३ ग्राम फेला पारेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारैजनालाई लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए।


0 comment