काठमाडौं - अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। बाढीपहिरोका कारण प्रसारण लाइनमा क्षति पुग्नुका साथै जोखिममा रहेका जलविद्युत् आयोजनाको उत्पादनसमेत सुरक्षात्मक उपायस्वरूप बन्द गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको सूचनाअनुसार प्रभावित विद्युत् आपूर्तिमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा ठप्प भएका छन्। त्यस्तै, बाढीपहिरो तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै ६९५.२ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक उपायस्वरूप बन्द गरिएको छ।

सरकारले विद्युत् आपूर्ति यथाशीघ्र पुनस्र्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिसकेको जनाएको छ। बाढीका कारण कालीगण्डकी करिडोर, मस्र्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा विद्युत् प्रसारण तथा आपूर्ति प्रभावित भएको छ।

सरकारका अनुसार असोज ८ गतेदेखि आइतबार साँझसम्म बाढी, पहिरो, डुबान, चट्याङ, हावाहुरी र अविरल वर्षाका ४ सय ३९ घटना भएका छन्। ती घटनामा म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ। पाँच जना बेपत्ता रहेको सरकारले जनाएको छ। हजारौ विस्थापित भएका छन्।

मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएको र त्यसबारे विवरण संकलन भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढीपहिरोका कारण सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायतका पूर्वाधारमा समेत क्षति पुगेको छ। नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित काठमाडौं उपत्यका जोड्ने तथा विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन्।

भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रमा अहोरात्र मर्मत गरिएका सडकमा समेत पुनः क्षति पुगेको छ। कालीगण्डकीको पक्की पुलसमेत बाढीले बगाएको छ। क्षतिग्रस्त सडक तत्काल मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

ठूला नदीमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको छ। महाकाली नदीको जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ। सेती, नारायणी र कमला नदीमा पनि पानीको सतह उच्च रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बाढीपहिरो प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सरकारले जोखिम अझै कायमै रहेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकट परेको अवस्थामा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न सरकारले अनुरोध गरेको छ। त्यस्तै, विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भंग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि निगरानी राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।