काठमाडौं - नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ । सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको महानगरपालिकाले जनाएको छ ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । अहिले सामान्य पानी परिरहेको भए पनि यो भारी वर्षाका रुपमा विकसित हुनसक्ने देखिएकोले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाइएको हो ।
जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्था समेत मूल्याङ्कन गरी आवश्यक परे विद्यालय सञ्चालन तथा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको माहानगरपालिकाले जनाएको छ ।
मौसमजन्य विपदको पूर्वतयारी र प्रतिकार्य योजनाका लागि बुधबार महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रसलगायत निकायसँग समन्वय बढाउने निर्णय गरेको छ ।
बैठकले, भारी वर्षाबाट महानगर क्षेत्रभित्र हुनसक्ने जोखिम न्यूनीकरणका लागि महानगरका सबै संयन्त्र, विभाग, निकाय र वडा कार्यालयलाई पूवतयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मङ्गाल र क्याचपिट सफाइलाई तीव्रता दिने निर्णयमा उल्लेख छ । यसका लागि नगरप्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ ।
विपद् प्रतिकार्यका लागि ¥याफ्टिङ बोर्ड, त्रिपाल, सवारीसाधनलगायत आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । दुई जना नगर प्रहरी उद्धार टोलीलाई तैनाथ गरिएको छ । सम्भावित जोखिमका समयमा नेपाल सरकारका कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सङ्घसंस्थासँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइएको छ ।


0 comment