काठमाडौं - लेन्दे खोलाबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले बगाएर नुवाकोटमा ल्याएका विभिन्न ‘लकर’ तथा दराजका धनीको खोजी कार्य सुरु गरिएको छ। प्रहरीले दुई थान लकरको फोटो सार्वजनिक गर्दै त्यसको वास्तविक धनीको खोजी सुरु गरेको हो।
बाढीको फोहोर हटाउने क्रममा नुवाकोटका विभिन्न स्थानबाट हालसम्म दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार विदुर नगरपालिका–१ ढुंगे, विदुर नपा–३ बुधसिंघाट र सोही वडाको छत्रेखोला दोभानमा ती सामग्री फेला परेका हुन्।
लकर तथा दराज कसको स्वामित्वमा रहेको हो ? भन्ने पहिचान हुन नसकेपछि नुवाकोट प्रहरीले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार फेला परेका लकरको आकार बैंक तथा वित्तीय संस्था वा ठूला व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने किसिमको देखिएको छ।
नुवाकोटसँगै जोडिएको रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेंसीमा एक थान लकर फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
प्रहरी निरीक्षक डिल्लीराज सापकोटाका अनुसार उक्त लकर दाबी गर्न हालसम्म कोही पनि सम्पर्कमा नआएकाले दाबीसहित सम्पर्क गर्न आग्रह गरिएको छ। बाढीका कारण नगद, कागजात, लकर, दराज वा अन्य सम्पत्ति हराएका व्यक्ति तथा संस्थालाई नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत प्रहरीले अनुरोध गरेको छ।


0 comment