काठमाडौं - नेपालगन्ज विमानस्थलबाट यात्रु लिएर डोल्पा आएको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर खुस्किएपछि विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।

सीता एयरको 9N-AJH कलसाइन भएको जहाज बिहीबार बिहान ८ बजेर २५ मिनेटमा जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर खुस्किएको हो । 

जहाजमा सात जना विदेशी नागरिकसहित १३ जना यात्रु सवार थिए । टायर खुस्किएपनि जहाजमा अन्य कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको डाल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् । 

उनका अनुसार जहाज धावनमार्गमै रोकिएपछि जुफाल विमानस्थलबाट हुने अन्य नियमित उडान तथा अवतरण प्रभावित भएका छन् । अवतरणका लागि आएको नेपाली सेनाको जहाजसमेत धावनमार्ग खाली नभएपछि जुफालमा अवतरण नगरी फर्किएको बताइएको छ । जहाजमा रहेका सबै यात्रु सुरक्षित छन् । जहाजलाई धावनमार्गबाट हटाएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।