काठमाडौं - सोमबार बिहान १० बजेतिर बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बस त्रिपुरेश्वर बस बिसौनीमा आइपुगेर रोकियो। २३ वर्षीय चालक दावा लामा बस अगाडि बढाउने तयारीमा थिए। गाडीअगाडि एउटा मोटरसाइकल उभिएपछि लामाले हर्न बजाउँछन्।
पछाडिबाट निरन्तर आउने अन्य सवारी साधनका कारण त्रिपुरेश्वर चोकमा सवारीको चाप र ट्राफिक जाम बढिसकेको थियो। ड्युटीमा रहेका ट्राफिक प्रहरीले नजिकै आएर सवारी रोकेको र हर्न बजाएको विषयमा प्रश्न उठाउँछन्। विवाद यहीँबाट सुरु हुन्छ। मूलपानी–थानकोट रुटको गाडीका चालक काभ्रेपलाञ्चोकको पनौती निवासी २३ वर्षीय चालक दावा लामासँग अब चर्काचर्की सुरु हुन्छ।
भीडभाडका बीच एउटा बसको हर्न बजाएको विषयलाई लिएर सुरु भएको सामान्य भनाभन केहीबेरमै चालकको तीव्र आक्रोशमा परिणत भयो। ट्राफिक प्रहरीले हर्न निषेधित क्षेत्रमा हर्न बजाएको भन्दै कारबाही गर्न खोजेपछि चालकले आफ्नो कुनै गल्ती नभएको र अनावश्यक दुःख दिइएको भन्दै भिडियोमा कडा प्रतिवाद गरेको देखिन्छ।
लगत्तै उनले बस मालिक लव केसीलाई फोन गरेर आफूलाई ट्राफिक प्रहरीले ‘ह्यारेसमेन्ट’ गरेको गुनासोमात्र गरेनन्, बग्गीखाना पठाइए आत्महत्या गर्नेसम्मको चेतावनी दिए। ‘आज ट्राफिकले मलाई बग्गीखाना पठाउने भए अहिले मेरो लास हुन्छ,’ चालकले फोनमा भनेको बस मालिक केसीले जानकारी दिएका छन्।
चालकबाट यस्तो गम्भीर कुरा सुनेपछि बस मालिक केसीले स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै तत्काल सम्बन्धित डीएसपीलाई फोन गरेर जानकारी गराए। आफ्नो चालकले आत्महत्याको कुरा गरिरहेकाले तुरुन्तै त्रिपुरेश्वरमा सुरक्षा निकाय पठाइदिन उनले आग्रह गरे। त्यसपछि उनले १०३ मा समेत फोन गरेर घटनाबारे जानकारी गराएको दाबी गरेका छन्। तर, सुरक्षा सतर्कताका लागि जानकारी गराएको करिब २५–३० मिनेटकै अवधिमा त्रिपुरेश्वरमा चालकले आफू सवार बसभित्र प्रज्ज्वलनशील पदार्थ छर्केर आफैंलाई र बसलाई आगो लगाए। घटनाको सूचना पाउनासाथ १२ः१९ बजे दमकल खटाइएको थियो। १२ः२७ बजे घटनास्थल पुगेको दमकलले १२ः३८ बजेसम्ममा आगलागी पूर्णरूपमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने गम्भीर घाइते चालकको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। उनको अवस्था चिन्ताजनक रहेको छ।
सार्वजनिक भएको भिडियो सामग्रीमा बसभित्रै रहेका चालक र बाहिर रहेका सुरक्षाकर्मीहरूबीच भएको तनावपूर्ण संवाद सुनिन्छ। चालकले आक्रोशित र भावुक हुँदै भनेका छन्, ‘म काम गर्ने मान्छे, म मर्न तयार छु। यसलाई छोड्िदनँ। माँ कसम जेसुकै गर छोड्िदनँ। मेरो गल्ती केही छैन।’ बसभित्र आगो लगाउन उद्यत रहेका चालकलाई बाहिरबाट सशस्त्र प्रहरीले सम्झाउँदै ‘तल झर्नुस्’ भनेका थिए।
बस मालिक केसीका अनुसार चालकको कुनै आर्थिक वा पारिवारिक समस्या रहेको आफूलाई जानकारी थिएन। उनी अविवाहित थिए र पछिल्लो दुई–तीन महिनादेखि उक्त बस चलाउँदै आएका थिए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले भने प्रहरीको तर्फबाट चालकमाथि कुनै दुर्व्यवहार वा जबर्जस्ती नभएको दाबी गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सत्य तथ्य छानबिनको माग गरेका छन्।
घटनाको सत्यतथ्य छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरी पाँच दिनको म्याद दिएको छ। उपत्यका प्रहरी कार्यालयका अनुसार समितिले आगलागी हुनुपूर्व चालक र ट्राफिक प्रहरीबीच भएको संवाद, सीसीटीभी फुटेजको अध्ययन र भाइरल दृश्यहरूको गहन विश्लेषण गर्नेछ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि अलग्गै छानबिन समिति गठन गर्ने तयारी गरिरहेको छ।
प्रारम्भिक प्रहरी विवरण र घटनास्थलमा भेटिएको सक्कल लाइसेन्सका आधारमा घाइते व्यक्तिको नाम दावा लामा बताइएको थियो। तर, वास्तविक दावा लामाले आफू सकुशल रहेको र आफ्नो हराएको लाइसेन्सको रसिद प्रयोग गर्दै आएका अर्जुन दोङले आत्मदाहको प्रयास गरेको दाबी गरेका छन्।
घाइते व्यक्तिको नागरिकता, बायोमेट्रिक विवरण, परिवारको सनाखत र यातायात कम्पनीको आधिकारिक अभिलेखका आधारमा प्रहरी अनुसन्धानपछि मात्रै घाइतेको वास्तविक पहिचान पुष्टि हुनेछ।


0 comment