काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीका बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र बनाउन माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बुर्लाकोटीले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएकाले थप दक्ष जनशक्ति, आधुनिक उपकरण र स्रोत–साधन परिचालन गरी खोजी कार्य तीव्र बनाउन माग गरेका छन् ।
उनले उद्धार गरिएका, बेपत्ता रहेका तथा मृतकहरूको प्रमाणित आधिकारिक विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पु¥याउन र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे । उनले भेटिएका शवहरूको पहिचान सहज बनाउन तत्काल डीएनए परीक्षण गर्ने व्यवस्था, आवश्यक उपकरण तथा विज्ञ जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।
त्यस्तै उनले आगामी दिनमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा कुनै पनि मानव बस्ती, सार्वजनिक कार्यालय वा भौतिक संरचना निर्माण नगर्न सुझाव दिए । जोखिमयुक्त क्षेत्रमा विपद्बाट बच्न आवश्यक पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।


0 comment