काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले बजारमा ग्यासको चरम अभाव हुँदा सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले देशमा ग्यास अभावका कारण जनतालाई मुख देखाउनसमेत लाज लाग्ने अवस्था सिर्जना भएको बताएका छन्।
सांसद चौलागाईंले एकातर्फ पोखिएको बाढीले ठूलो वितण्डा मच्चाए पनि त्यसको कहरबाट आफूहरू अछुतो नभएको र अर्कातर्फ ग्यासको हाहाकारका कारण बजारमा संकट उत्पन्न भएको उल्लेख गरेका छन्। यसरी जनताले भोगिरहेको सास्तीप्रति सरकार गम्भीर नभएको भन्दै उनले सरकार के हेरेर बसेको छ भनी प्रश्नसमेत उठाएका छन्।
त्यस्तै, उनले हिजो जेन्जी स्मृति दिवसमा जेन्जीहरूको भावना र मर्मभन्दा विपरीत गएर विवादित व्यक्तिहरूलाई उपस्थित गराइएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। त्यस्तो विवादित कार्यक्रम किन र कसको भूमिकामा आयोजना गरियो भन्दै उनले सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।


0 comment