काठमाडौं - नेकपा एमालेका सचिव महेश बस्नेतले संयुक्त राष्ट्रसंघको कार्यक्रमबाट फर्के लगत्तै राजीनामा दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् । गत वर्ष भाद्र २४ गते भएको आगजनीविरुद्ध बुधबार आफ्नै निवास भक्तपुरमा विरोध कार्यक्रमको आयोजना गर्दै बस्नेतले वर्तमान सरकार रहेसम्म देशको हित नहुने भन्दै संयुक्त राष्ट्रसंघको कार्यक्रमबाट फर्किएलगत्तै राजीनामा दिन चेतावनी दिए ।

राजीनामा नआएमा २३–२४ गतेको घटनाजस्तै जनताको आक्रोश उर्लिने र संसद् पुनःस्थापनालगायतका मागसहित जेन–जी तथा विभिन्न समूहलाई समेटेर सशक्त आन्दोलन चर्काउने उनले बताए ।

उनले जेनजी आन्दोलनमा ६ जना प्रहरीको हत्या गरिएको उल्लेख गर्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरे । उनले लुटपाटमा मृत्यु भएकाका परिवार पीडित भएकाले क्षतिपूर्ति दिनुपर्ने तर उनीहरुलाई सहिद घोषणा गर्ने कदमको कडा विरोध गरे। सिंहदरबार, संसद् भवन जलाउने र गोली चलाउने काम एउटै समूहले गरेको उनले बताए ।

उनले राहत कोषमा सरकारले १२ अर्ब कब्जा गरेकाले एमालेले आफ्ना कार्यकर्ताको गाँस कटाएर उठाएको १ करोड २० लाख रुपैयाँ सिधै बाढी पीडितलाई वितरण गरिएको धारणा राखे । स्थानीय तहले जग्गा उपलब्ध गराएमा नेकपा (एमाले) ले पीडितहरूका लागि ५०० वटा अस्थायी बासस्थान/घर निर्माण गरिदिने उनको भनाइ छ ।