काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदको बलिदानबाट प्राप्त गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी चलखेलका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताएका हुन्।
प्रचण्डले भने,‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ।’
शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे। उनले भने,‘सुरेश वाग्लेको निष्ठा, आदर्श र राजनीतिक उचाइ निकै उच्च थियो। उहाँको बलिदानपछि पैदा भएको नयाँ संकल्प र ऊर्जाले जनयुद्धलाई नयाँ उचाइमा लैजान र त्यसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्यो।’
उनले जनमुक्ति सेनाका कुशल कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।


0 comment