काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताएका छन् । 

उनले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्न पनि आग्रह गरे ।

भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी काठमाडौँ फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए। 

उनले हामी नेपालीहरू अत्यन्त गहिरो शोक र पीडाबाट गुज्रिरहेको यस कठिन तथा दुःखद क्षणमा आफू नागरिकहरूमाझ केही भन्न उपस्थित भएको उल्लेख गर्दै यो दुःखको घडीमा आफू पनि सबैको साथमा रहेको बताए ।