काठमाडौं - भोजपुरका ग्रामीण बस्तीमा स्क्रब टाइफसको संक्रमणले जनजीवन प्रभावित बन्न थालेको छ। उच्च ज्वरोसँगै जिउ दुख्ने, थकान र अत्यधिक आलस्य हुने लक्षणले गाउँका बासिन्दा धमाधम ओछ्यान पर्न थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। कतिपय बस्तीमा घरैपिच्छे बिरामी पर्न थालेका छन् भने एकै परिवारका धेरै सदस्यसमेत संक्रमणबाट प्रभावित भएका छन्।
उत्तरी साल्पासिलिछो गाउँपालिका–१ र २ कुलुङमा संक्रमण फैलिँदा स्थानीय प्रभावित भएका छन्। संक्रमणका कारण कतिपय परिवारका सदस्यहरू एकैपटक थलिँदा गाउँको जनजीवन नै प्रभावित बनेको छ। कुलुङका स्थानीय कृष्ण कट्टेलका अनुसार पछिल्लो समय गाउँमा ज्वरो र जिउ दुख्ने समस्या व्यापक बनेको छ। ‘अत्यधिक ज्वरो आउने र जिउ दुख्ने समस्याले पुरै गाउँ नै थलिएको अवस्था छ,’ उनले भने, ‘धेरै घरमा एकपछि अर्को गर्दै बिरामी पर्न थालेका छन्। रोकिने छाँटकाँट देखिँदैन।’
संक्रमणका कारण ओछ्यान परेकी कुलुङकै स्थानीय कोपिला राईले घरपरिवार र छिमेकीहरू नै बिरामी भएपछि उपचारका लागि अस्पतालसम्म पुग्नै कठिन भएको सुनाइन्। गाउँमै एकैपटक धेरै मानिस बिरामी पर्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान र उपचार गराउन समस्या भइरहेको उनले बताइन्।
स्वास्थ्य चौकी कुलुङको तथ्यांक अनुसार गत साउन महिनामा मात्रै १६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। त्यस्तै भदौको दोस्रो सातासम्म थप २० जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य चौकीले जनाएको छ। संक्रमण पुष्टि हुने क्रमसँगै अहिले पनि दैनिकजसो नयाँ बिरामी स्वास्थ्य चौकी पुगिरहेका छन्।
स्वास्थ्य चौकीका अनुसार हाल दैनिक ७ देखि ८ जनासम्म स्क्रब टाइफस संक्रमणका बिरामी उपचारका लागि आउने गरेका छन्। यसअघिका संक्रमित बिरामीसमेत नियमित फलोअपका लागि स्वास्थ्य चौकी आउने गरेका छन्।
स्वास्थ्य चौकीका इन्चार्ज मेनुका श्रेष्ठका अनुसार उपचारपछि स्वास्थ्यमा सुधार आएका बिरामीहरू सामान्य अवस्था भएर घर फर्किने गरेका छन्। ‘अघिल्लो चरणमा संक्रमण देखिएका बिरामीहरू पनि नियमित फलोअपमा आउने गरेका छन्। उपचारपछि सामान्य अवस्था भएर घर फर्किने क्रम पनि छ,’ उनले भनिन्।
संक्रमित बिरामीमा अत्यधिक ज्वरो आउने, शरीर तथा जिउ दुख्ने, थकान र आलस्य महसुस हुने जस्ता लक्षण बढी देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। वर्षायामको प्रतिकूल मौसमसँगै संक्रमण फैलिने क्रम बढेको चिकित्सकहरूको भनाइ छ।
स्वास्थ्य चौकीका डा. एमडी बसरुद्दिन अन्सारीका अनुसार वर्षायाममा स्क्रब टाइफसको संक्रमण फैलिने जोखिम बढ्ने गरेको छ। ‘प्रतिकूल मौसमका कारण संक्रमण फैलिने क्रम जारी छ। बिरामीहरूको ल्याब परीक्षणपछि आवश्यक औषधि दिइरहेका छौँ र उपचारबाट बिरामीहरू निको भइरहेका छन्,’ उनले बताए।
स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने ब्याक्टेरियाजन्य संक्रमण भएकाले विशेषगरी झाडी, घाँसे क्षेत्र तथा खेतबारीमा काम गर्ने मानिस यसको जोखिममा पर्ने गरेको डा. अन्सारी सुनाउँछन्। सुरुवाती अवस्थामा सामान्य ज्वरोजस्तो देखिने भएकाले कतिपयले रोगलाई बेवास्ता गर्ने गरेका छन्। तर समयमै उपचार नपाएमा यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्।
कुलुङमा संक्रमणको अवस्था बढ्दै गएपछि स्थानीयमा थप त्रास बढेको छ। कुलुङसँगै षडानन्द नगरपालिका दिङला क्षेत्रमा पनि संक्रमणका बिरामीहरू थपिएका छन्। गाउँमा एकैपटक धेरै नागरिक बिरामी परेपछि स्वास्थ्य संस्थाको सेवा र औषधि महत्त्वपूर्ण बनेको स्थानीय सरोकारवालाहरू सुनाउँछन्।
भौगोलिक विकट क्षेत्रमा पर्ने कुलुङका नागरिकलाई उपचारका लागि छिमेकी जिल्ला संखुवासभाको खाँदबारी र षडानन्द नगरपालिकाको दिङलाबजार लैजानुपर्ने अवस्था रहेकाले गाउँमै परीक्षण र उपचारको व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ।
यस्तै जिल्ला अस्पताल भोजपुरमा पनि स्क्रब टाइफसको संक्रमण दिनानुदिन बढ्दो क्रममा रहेको छ। अहिले दैनिक अस्पतालको ओपिडीमा चेकअपका लागि आउने बिरामीहरूमध्ये ३० देखि ४० प्रतिशत बिरामीहरूमा पोजिटिभ भेटिने गरेको अस्पतालका सूचना अधिकारी दिपेन्द्र दासले जानकारी दिए।
वर्षायाम अझै जारी रहेकाले संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सचेतना बढाउनुपर्ने देखिएको छ। खेतबारी तथा झाडीमा काम गर्दा सावधानी अपनाउने, शरीर ढाक्ने कपडा लगाउने र ज्वरोसँगै जिउ दुख्ने, अत्यधिक थकान तथा आलस्य हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनुपर्ने जिल्ला अस्पताल भोजपुरका प्रमुख डा. राम कुमार अहिरले बताए। उनका अनुसार संक्रमित बिरामीहरूको फोक्सोमा समस्या देखिने र सेतो रक्तकोष घट्ने जस्ता समस्याहरू बढ्ने गरेका छन्।


0 comment