काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद झाले नेपालले कुनै कारण वा संकट सिर्जना नगरे पनि अरूका कारण उत्पन्न जलवायु परिवर्तनको चर्को मूल्य चुकाउनु परेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर सशक्त रूपमा आवाज उठाउन उनले आग्रह गरे । उनले अब विश्व समुदायसँग राहत माग्ने समय नभई नेपालले गरेको त्याग र क्षतिको अधिकारसहित क्षतिपूर्ति दाबी गर्ने बेला आएको धारणा राखे ।
सांसद झाले राष्ट्रिय संकटको यस घडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति सबै दलहरूले देखाएको समर्थन, सद्भाव र ऐक्यबद्धता अनुकरणीय रहेको उल्लेख गरे।
साथै उनले विपद् व्यवस्थापनका लागि प्रहरी तथा सुरक्षा निकायलाई साधन–स्रोत सम्पन्न बनाउनुपर्ने; सुरक्षा निकायलाई आवश्यक उड्डयन तथा आधुनिक उद्धार उपकरण उपलब्ध गराउनुपर्नेमा जोड दिए ।


0 comment