काठमाडौं - सरकारले रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा भाद्र २२ गते राष्ट्रिय शोक मनाउने मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औँ दिनको पुण्यतिथि अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले २०८३ भदौ २३ गते ‘जेन्जी सहित दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

त्यस्तै मन्त्रिपरिषद्ले एसियाली विकास बैंकबाट भोटेकोसी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सूचारु गर्न ’एकीकृत व्यावसायिक पुनस्र्थापन योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुट लगायतका सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरि बैठकले खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५,००० मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फका नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव पदमा पदस्थापन गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

प्रवक्त पोखरेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर अभिभावक गुमाएका तथा परिवारविहीन बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जानकारी दिए । कुनै पनि विद्यार्थीलाई बिचल्लीमा पर्न नदिने र अभिभावकविहीन बालबालिकाको सम्पूर्ण अभिभावकत्व राज्यले ग्रहण गर्ने उनले बताए । पोखरेलले घरबारविहीन भएकाहरूलाई तत्कालका लागि होल्डिङ सेन्टर तथा दातृ निकायहरूसँग मिलेर अस्थायी बासस्थान र राहतको प्रबन्ध गरिएको उल्लेख गरे ।