काठमाडौं - नेपाली कांग्रेस संस्थापनइतर समूहले १५औं केन्द्रीय महाधिवेशन आयोजना गर्न प्रस्तावित कार्यतालिका तय गरेको छ । कांग्रेस संस्थापनइतरको सम्पर्क कार्यालय चुनदेवीमा बुधबार बसेको सो समूहको बैठकमा नेता उमाकान्त चौधरीले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।

१५ औँ महाधिवेशनको कार्यतालिका बैठकमा प्रस्तुत गरिएको र केन्द्रीय सदस्यहरूको धारणापछि आवश्यक परिमार्जनसहित पारित गरिने कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले जानकारी दिए।

पुस १० गतेभित्र नवीकरण गरिएका क्रियाशील सदस्यतालाई पूर्ण मान्यता दिइने र नयाँ क्रियाशील सदस्यता वडाको सिफारिसका आधारमा वितरण गरी क्षेत्रीय समितिबाटै टुङ्गो लगाइने उनले बताए ।

उनले अर्को पक्षले तय गरेको महाधिवेशन कार्यतालिका रोक्न सर्वोच्च अदालतमा निवेदन दिएको तर अन्तरिम आदेश नआएपछि आफूहरु पनि १५ औँ महाधिवेशनको कार्यतालिका लिएर अघि बढेको स्पष्ट पारे । उनले अदालतमा विचाराधीन पुनरावलोकन मुद्दाको अन्तिम फैसलाले जसलाई मान्यता दिन्छ, त्यही नै आधिकारिक कांग्रेस हुने धारणा राखे । 

सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई महाधिवेशन प्रक्रिया अघि बढाउन बाटो खोलिदिएपछि इतर पक्ष पनि छुट्टै तयारीमा जुटेको हो । अदालतले आधिकारिकताको फैसला नगरिँदा दुवै पक्षले समानान्तर रुपमा गतिविधि अघि बढाएका छन् । 

यद्यपि निर्वाचन आयोगको निर्णयको आधारमा सर्वोच्चले पनि विशेष महाधिवेशबाट चुनिएका थापाको नेतृत्वलाई मान्यता दिइसकेको छ । निर्णयमा पुनरावलोकन गर्ने सर्वोच्चको पछिल्लो निर्णयले कांग्रेसको विवादलाई मलजल गर्ने काम भइरहेको छ । यसर्थ पूर्ण इजलासकले यो विषयको जतिसक्दो चाँडो छिनोफानो गर्नुपर्ने हुन्छ ।