काठमाडौं - नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसद्का सबै सांसदलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्रीले आफ्नै सांसदलाई समेत विश्वासमा लिने प्रयास नगरेको आफूले महसुस गरेको टिप्पणी गरे।

‘सरकारको मुख्य नेतृत्व आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो। यस अर्थमा धन्यवाद भन्छु। तर अरूलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्लाई विश्वासमा लिनु भनेको खाली प्रतिपक्षीलाई मात्रै होइन,’ प्रचण्डले भने। प्रधानमन्त्री संसद्मा आएर सांसदहरूको कुरा नसुनी फर्किने कार्यशैली उचित नभएको उनको भनाइ थियो।

‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो हुँदैन। प्रधानमन्त्री त हामी सबैको हो,’ उनले भने, ‘जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौँ, भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?’

प्रचण्डले प्रधानमन्त्री शाहले ठूलो अवसर पाएको भन्दै वर्तमान संकट समाधानका लागि त्यसलाई गुमाउन नहुने बताए। उनले देशले लामो भाषण वा आश्वासनभन्दा नेतृत्व र सरकारको प्रभावकारी उपस्थितिको अपेक्षा गरेको बताए।

‘अहिलेको तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। उहाँलाई अवसर प्राप्त छ। गुम्न दिनुहुँदैन,’ उनले भने, ‘यस्तो बेलामा गर्नुपर्ने संकल्प भनेको धेरै लामो भाषण होइन, नेतृत्व खोजेको छ देशले। जनताले आश्वासन खोजेका छैनन्। हरेक ठाउँमा सरकारको उपस्थित खोजेका छन्।’

सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै संकट समाधान नहुने भन्दै प्रचण्डले प्रधानमन्त्री शाहप्रति व्यंग्यसमेत गरे।‘सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो तर यो संकट समाधान हुँदैन,’ उनले भने। देश संकटमा रहेका बेला राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले सबैलाई एकताबद्ध बनाएर अघि बढ्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए। प्रधानमन्त्रीले गम्भीरतापूर्वक सबैको विश्वास जितेर अघि बढ्न नसके समयले पर्खिन नसक्ने चेतावनीसमेत प्रचण्डले दिए।