काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र बाढी र लेदो भरिएका कारण उद्धार कार्य अप्रत्याशित रूपमा जटिल बनेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै बोल्दै प्रधानमन्त्री शाहले पहिरो पन्छाउने सामान्य विपद्भन्दा यो परिस्थिति बिल्कुलै फरक रहेकाले उद्धारमा रातदिन खटिएका सुरक्षाकर्मीहरूलाई आलोचना गर्नुको सट्टा मनोबल बढाउन सांसदहरू तथा सम्पूर्ण नागरिकसँग आग्रह गरे।
प्रधानमन्त्री शाहले सुरुङ पहिरोले मात्र थुनिएको नभई बाढीसँगै छिरेको हिलो र माटोले पूर्ण रूपमा भरिएकाले यस्तो जटिलता सुल्झाउने प्रविधि र विशेषज्ञता विश्वमै सीमित रहेको स्पष्ट पारे। सुरुङभित्रको साँघुरो घेराका कारण एक पटकमा एक-दुई वटाभन्दा बढी एक्साभेटर सञ्चालन गर्न नसकिने प्राविधिक बाध्यता रहेको उल्लेख गर्दै मौसम अनुकूल भई हिलो केही सुकेपछि मात्र उद्धार टोली भित्र पस्न सक्ने अवस्था रहेको उनले सदनलाई जानकारी गराए।
उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन सरकारले भूगर्भविद् (जिओलोजिस्ट), जिओटेक इन्जिनियर, अन्तर्राष्ट्रिय विज्ञहरूका साथै एआई (AI) लगायतका आधुनिक प्रविधिको निरन्तर सहयोग लिएर अध्ययन र परामर्श गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यक्त चासो र गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्री शाहले उद्धार टोलीहरू उपलब्ध साधनस्रोत र प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यक्षेत्रमा निरन्तर खटिरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू जोखिम मोलेर कार्यक्षेत्रमा खटिएकाले ‘काम भएन’ भनेर आलोचना गर्नुभन्दा उनीहरूलाई प्रोत्साहन र हौसला दिन उनले सम्पूर्ण संसद् र आम नागरिकसमक्ष अपिल गरे।


0 comment