काठमाडौं - नेकपा (एमाले) ले भोटेकोसी बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले पार्टीले उक्त रकम परिचालन गर्ने जानकारी दिए।
राहत वितरणको मोडालिटीबारे बोल्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ गर्नुभन्दा वास्तविक पीडितको हातमा प्रत्यक्ष र छिटो राहत पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
सरकारी कोषमा रकम जम्मा गर्दा कतिपय अवस्थामा रकम खातामै थन्किने र पीडितले तत्काल आवश्यक पर्ने खानेपानीसमेत नपाउने अवस्था सिर्जना हुन सक्ने ओलीको भनाइ थियो।
‘हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने होइन, पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्याउनु हो,’ ओलीले भने।
उनले राहत तथा पुनर्स्थापनाका कार्य प्रभावकारी बनाउन वास्तविक पीडितसम्म छिटो पुग्ने माध्यम पहिचान गरी पार्टीले सोहीअनुसार सहयोग परिचालन गर्ने स्पष्ट पारे। विपद्को यस घडीमा सबै पक्ष जिम्मेवार भएर उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्नुपर्नेमा समेत अध्यक्ष ओलीले जोड दिए।


0 comment