काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्।
देउवाको वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काको वारेसका रूपमा अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्चमा पूरक निवेदन पेस गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले दुवै निवेदन दर्ता भएको जानकारी दिए।
निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्न माग गरिएको छ। कांग्रेसको आधिकारिकता तथा नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्न अनुमति दिएपछि पनि एकलौटी रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाइएको भन्दै देउवा–खड्का पक्षले त्यसलाई रोक्न माग गरेको हो।
यसअघि कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले मुद्दालाई सुरुबाटै सुनुवाइ गर्न अनुमति दिएको थियो। त्यसपछि पनि महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै इतर समूहले सोमबार सर्वोच्चमा पूरक रिट निवेदन दायर गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता कोइरालाका अनुसार निवेदनमाथिको सुनुवाइ आगामी ११ गतेका लागि तोकिएको छ।


0 comment