काठमाडौं - विभाजनको स्थितिमा पुगेको कांग्रेसलाई एक गराउन पार्टीका युवा तथा मध्यमार्गी धारका नेताहरूले पहल जारी राखेका छन्। यसै क्रममा नेता नैनसिंह महरले पार्टी एकताका लागि तीन विकल्प अघि सारेका छन्।
केही दिनअघि सभापति गगनकुमार थापासँग भेट गरेका महरले पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवासँग पनि भेट गरी पार्टीभित्रको विवाद समाधानका लागि तीन विकल्पमा सहमति खोज्न सुझाव दिएका छन्।
महरले अघि सारेको पहिलो विकल्पअनुसार सभापति थापा र पूर्वसभापति देउवामध्ये एक जनाले पार्टीको नेतृत्व गर्ने विषयमा दुवै नेताबीच सहमति हुनुपर्नेछ। यसका लागि दुवै पक्षले संवादमार्फत साझा सहमति निर्माण गर्नुपर्ने उनको सुझाव छ। दोस्रो विकल्पमा थापा र देउवा दुवैले पार्टी नेतृत्वबाट अलग भई तेस्रो व्यक्तिको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्न सकिने प्रस्ताव गरिएको छ।
त्यस्तै, तेस्रो विकल्पका रूपमा सर्वोच्च अदालतबाट जुन पक्षको पक्षमा फैसला आए पनि त्यसलाई स्वीकार गर्ने र त्यसअघि नै पार्टी एकताका लागि दुवै पक्षबीच पूर्वसहमति कायम गर्ने प्रस्ताव महरले अघि सारेका छन्।
गगनकुमार थापाको नेतृत्वलाई आधिकारिकता दिएको सर्वोच्च अदालतले उक्त फैसला पुनरावलोकनका लागि परेको निवेदनमा निस्सा दिएपछि नेपाली कांग्रेसभित्र अन्योलता थपिएको छ। संस्थापनइतर पक्षले सर्वोच्चबाट आफूहरूलाई न्याय मिल्ने दाबी गर्दै आएको छ भने थापा पक्षले पुनरावलोकनको प्रक्रियालाई आफूहरू नै आधिकारिक भएको विषय थप स्पष्ट हुने अवसरका रूपमा लिएको छ। कांग्रेसका युवा तथा मध्यमार्गी नेताहरूले दुवै पक्षलाई संवाद र सहमतिका माध्यमबाट पार्टी एकता कायम गर्न दबाब दिइरहेका छन्।


0 comment