काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको बताएका छन्। उनले यस्तो परिस्थितिबाट मुलुकलाई निकास दिन कम्युनिस्ट शक्तिबीच सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन्।
आइतबार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका सवाल तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई पर्याप्त प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण अवस्था सिर्जना भएको बताए।
उनका अनुसार देशको वर्तमान संकट समाधान गर्दै जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनको एकता महत्वपूर्ण आधार बन्न सक्छ। उनले विगतका राजनीतिक कमजोरीका लागि एक–अर्कालाई आरोप लगाउनेभन्दा सबै दल तथा शक्तिले सामूहिक रूपमा आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।
प्रचण्डले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनसँग कम्युनिस्ट आन्दोलनको सम्बन्ध अत्यन्त निकट रहेको उल्लेख गर्दै साझा निकासका लागि गम्भीर चिन्तन र छलफल गर्न कार्यक्रममा सहभागी विभिन्न दलका प्रतिनिधिलाई आग्रह गरे। उनले राष्ट्रिय स्वाधीनताको वर्तमान चुनौती सामना गर्न राजनीतिक शक्तिहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा समेत जोड दिए।


0 comment