काठमाडौं - धवलशमशेर राणाले आफ्नो नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बिहीबार राणासहितका नेताहरु आयोग पुगेर दल दर्ताका लागि निवदेन दिएका हुन्। ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वको दल दर्ताका लागि निवेदन दिएको राणाले बताए । उक्त दलको दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने बताइएको छ ।

दल दर्ताको निवेदन दिएपछि राणाले दुर्गा प्रसाईंसंगको एकता नटुटेको र छलफल निरन्तर जारी रहेको स्पष्ट पारे । आन्तरिक रुपमा छलफल भएपछि नयाँ सहमति गरेर एकताबद्ध हुने समझदारी बनेको उनको भनाइ छ । 

आवश्यक कागजात तथा नामहरू मिलाउन समय नपुगेका कारण संयुक्त रुपमा पार्टी दर्ता नसकिएको उनको भनाइ छ । उनले दल दर्ताको मिति लामो समयअगाडि नै तय भइसकेकाले बाध्यताका कारण निर्धारित कार्यक्रम अघि बढाइएको जनाए ।