काठमाडौं - धादिङको गजुरी गाउँपालिका–५ राईगाउँका मजदुरहरू त्रिशूली नदीबाट बालुवा संकलन गर्ने काममा पुनः फर्किएका छन्। केही दिनदेखि रोकिएको बालुवा संकलन कार्य गजुरी गाउँपालिकाको पहल र समन्वयपछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो।
सुरक्षा सामग्रीको प्रयोग गरी सावधानीपूर्वक काम गर्ने सहमति भएपछि मजदुरहरू नदीमा फर्किएका हुन्। गजुरी गाउँपालिकाले नदीमा काम गर्दा हुन सक्ने जोखिम न्यूनीकरणका लागि मजदुरहरूलाई ‘लाइफ ज्याकेट’, ‘लाइफ रिङ’ लगायतका सुरक्षा तथा उद्धार सामग्री उपलब्ध गराएको छ।
त्रिशूली नदीबाट हातैले बालुवा निकालेर दैनिक ज्याला गर्दै परिवारको गुजारा चलाउँदै आएका मजदुरहरूको काम रोकिएपछि उनीहरूको रोजीरोटी संकटमा परेको थियो। बालुवा संकलन बन्द हुँदा राईगाउँका दर्जनौं मजदुरको दैनिक आम्दानीको स्रोतसमेत बन्द भएको थियो। मजदुरहरूले आफूहरू ठूला व्यवसायी वा नदीजन्य पदार्थको अवैध कारोबारमा संलग्न नभएको भन्दै आफूहरूको वास्तविक समस्या बुझिदिन स्थानीय सरकारसँग आग्रह गर्दै आएका थिए। वर्षौंदेखि नदी किनारमा हातैले बालुवा निकालेर दैनिक ज्याला कमाउँदै आएको उनीहरूको भनाइ छ।
काम रोकिएपछि घरायसी खर्च, खाद्यान्न, बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकता पूरा गर्नसमेत समस्या भएको मजदुरहरूले बताएका थिए। उनीहरूले बालुवा संकलन पूर्णरूपमा बन्द गर्नुको सट्टा मजदुरको पहिचान, दर्ता, सुरक्षा मापदण्ड र निश्चित क्षेत्र निर्धारण गरी व्यवस्थित गर्नुपर्ने माग गर्दै आएका थिए।
स्थानीयका संघीय सांसद आशिका तामाङको दबाबपछि त्रिशूली नदीबाट बालुवा निकाल्ने काम रोकिएको थियो। जिल्ला प्रशासन कार्यालय धादिङको निर्देशनमा इलाका प्रहरी कार्यालय गजुरीले नदीबाट बालुवा निकाल्ने काम रोक्न थालेपछि मजदुरहरू समस्यामा परेका थिए।
मजदुरहरूको गुनासोपछि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि, गाउँपालिका प्रहरी तथा इलाका प्रहरी कार्यालय गजुरीका प्रतिनिधिबीच छलफल भएको थियो। छलफलमा मजदुरको जीविकोपार्जन, नदीजन्य पदार्थ संकलनसँग जोडिएको कानुनी पक्ष तथा काम गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे छलफल गरिएको थियो। गाउँपालिकाको पहलपछि मजदुरहरूले सुरक्षा सामग्री प्रयोग गरेर बालुवा संकलन थालेका छन्। नदीमा काम गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाएर मात्र काम गर्न गाउँपालिकाले मजदुरहरूलाई आग्रह गरेको छ।
बिहीबार गजुरी गाउँपालिका–५ बाँगेमा मजदुरहरूसँग भेटघाट गर्दै सांसद आशिका तामाङले पनि आफ्नो सुरक्षामा आफैं सचेत भएर सावधानीपूर्वक बालुवा निकाल्न आग्रह गरिन्। उनले मजदुरहरूको वास्तविक समस्या बुझेर सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।
मजदुरहरूसँगको कुराकानीका क्रममा सांसद तामाङले काम गर्ने क्रममा मदिरा सेवन नगर्नसमेत सचेत गराइन्। नदीमा बालुवा निकाल्दा मदिरा सेवन गरे दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसबाट टाढा रहन उनले आग्रह गरिन्।
स्थानीयका अनुसार गजुरी–५ राईगाउँका करिब १७० घरधुरीसहित बाहिरी जिल्लाबाट आएका सयौं मजदुरसमेत बालुवा संकलनमा निर्भर रहँदै आएका छन्। बालुवा निकाल्ने काम रोकिएपछि दैनिक खर्च धान्नसमेत समस्या भएको मजदुरहरूले बताएका छन्।
मजदुरहरूले वैकल्पिक रोजगारी वा राहतको व्यवस्था गर्न माग गर्दै आएका थिए । गाउँपालिकाले तत्कालका लागि मजदुरको रोजीरोटीलाई ध्यानमा राख्दै श्रममूलक काममा सहभागी गराउने तथा समस्या समाधानका लागि पहल गर्ने जनाएको छ।
सांसद तामाङले भने वर्षायाममा नदीबाट बालुवा निकाल्दा मजदुरको ज्यान जोखिममा पर्ने भएकाले बालुवा संकलनमा रोक लगाइएको बताएकी छन्। उनका अनुसार धादिङ क्षेत्र नम्बर–१ का स्थानीय मजदुरलाई स्थानीय सरकारको मातहत तथा प्रहरी प्रशासनको निगरानीमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बालुवा संकलन गर्न दिने विषयमा समेत व्यवस्था गरिएको छ।


0 comment