काठमाडौं - कास्की र पर्वतको सिमानामा गएराति आएको भीषण बाढीले दुईवटा मेटल पुल र मन्दिरको आधा भाग बगाएको छ। बाढीका कारण मन्दिरमा फसेका ३ जनाको उद्धारका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली खटिएको छ।
साउन २९ गते राती २:१५ बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने नयाँपुल-बिरेठाँटी सडक खण्ड नजिकै मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुवै तर्फका मेटलका पुलहरू बगाएको हो।
मोदीखोलाको बीच भागमा रहेको अन्नपूर्ण माता मन्दिर जाने पुलहरूसँगै बाढीले मन्दिरको आधा भागसमेत कटान गरी बगाएको छ।
नदीको मध्यभागमा रहेको मन्दिरको भाग बगेपछि त्यहाँ रहेका १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना भित्रै फसेका छन्। बाढीको बहाव उच्च रहेकाले उनीहरू बाहिर निस्कन नसकेको स्थानीयले जनाएका छन्। घटनाबारे जानकारी पाउनासाथ राती २:३५ बजे नै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट उद्धार टोली घटनास्थलतर्फ परिचालन भएको छ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार फसेका मानिसहरूको उद्धारका लागि ४ जना 'रोप रेस्क्यु' (रस्सीको माध्यमबाट उद्धार गर्ने) विज्ञ र ३ जना गोताखोर सहितको विशेष टोली आवश्यक विपद् उद्धार सामग्रीसहित खटिएको छ।
अहिले घटनास्थलमा सुरक्षाकर्मीहरूले उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखेका छन्।


0 comment