काठमाडौं - पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ कालिकोट थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीय मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सुशील र मैना बमले शुक्रकार दिउँसो मेडिकल अधिकृत डा अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए ।

तपेन्द्र राति अस्पताल प्रवेश गरी त्यहाँ कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, अस्पतालका झ्याल, फार्मेसीमा औषधि राखिएका दराज, र्‍याकलगायत क्षति पुगेको जनाइएको छ ।

चिकित्सक, नर्स, कर्मचारी कुटपिट र अस्पताल तोडफोड गर्नेसहित तीन जनालाई गएराति नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक खत्रीले बताए। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको निहुँमा विवाद भई चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यही घटनालाई लिएर राति उनीहरूमाथि आक्रमणको प्रयास तथा अस्पताल तोडफोड भएको जनाइएको छ ।

उक्त घटनामा संलग्न बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।