काठमाडौ —रोटरी क्लबहरूद्धारा को संयुक्त आयोजनामा किराँत धार्मिक वनमा मियावाकी विधिबाट २,००० रैथाने बिरुवा वृक्षारोपण गरिएको छ । वातावरण संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा हरित नेपालको अभियानलाई सशक्त बनाउने उद्देश्यले डिभिजन वन कार्यालय, ललितपुरको प्राविधिक सहयोग, ललितपुर महानगरपालिका–२३ तथा किराँत माङहिम व्यवस्थापन समितिको सहकार्यमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका दशवटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा किराँत धार्मिक वन, ललितपुरमा मियावाकी विधिअनुसार वृक्षारोपण गरिएको हो ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले नेपालभर “एक लाख वृक्षारोपण अभियान“ (२६ जुलाईदेखि १ अगस्ट २०२६ सम्म) सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत किराँत धार्मिक वनमा एक हजार रैथाने बिरुवा तथा एक हजार भेटीभर(Vetiver) का राइजोम गरी जम्मा २,००० बिरुवा रोपिएको हो ।
कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की, ललितपुर डिभिजन वन कार्यालयका प्रमुख संयोग बस्नेत, मच्छिन्द्रनाथ सब–डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्की, किराँत माङहिम व्यवस्थापन समितिका अध्यक्ष, सहभागी दशवटा रोटरी क्लबका अध्यक्षहरू, डिष्ट्रिक्टका पदाधिकारी, रोटरियनहरू, वन कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य तथा स्वयंसेवकहरूको १५० जना भन्दा बढीको उल्लेखनीय सहभागितामा वृक्षारोपण गरिएको हो । कार्बन संचितिको गतिमा वृद्धि, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, भू–क्षय नियन्त्रण, जैविक विविधतामा वृद्धि तथा स्वच्छ र हरित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
रोटरीले आफ्नो Create Lasting Impact अभियानलाई आत्मसात गर्दै वातावरण संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन तथा सामुदायिक सेवामा निरन्तर योगदान दिँदै आएको छ । यस संयुक्त वृक्षारोपण अभियानले समुदाय, स्थानीय सरकार तथा सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै दिगो र हरित भविष्य निर्माणमा महत्वपूर्ण प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
वृक्षारोपणको नेतृत्व रोटरी क्लब अफ गोदावरीले गरेको थियो भने कार्यक्रममा रोटरी क्लब अफ बागमती काठमाडौं, रोटरी क्लब अफ जावलाखेल, रोटरी क्लब अफ जावलाखेल मञ्जुश्री, रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ कोपुण्डोल, रोटरी क्लब अफ पाटन, रोटरी क्लब अफ पाटन दरबार स्क्वायर तथा रोटरी क्लब अफ स्वयम्भूको सक्रिय सहभागिता रहेको थियो ।
वृक्षारोपणमा काउलो, सिरिङ्गे, फिरफिरे, चिलाउने, चाँप, फलाँट, पुवाँले, कनिके, खरी, लाँकुरी, कालीकाठ, पयौँ, रिठ्ठा, काफल, अमला, कोइरालो, तेजपात, दार, स्यालफुस्रे, पारिजात, चिउरी लगायतका २० भन्दा बढी रैथाने प्रजातिका एक हजार बिरुवा रोपिएका छन्। साथै भू–क्षय नियन्त्रण र माटो संरक्षणका लागि भेटीभरका एक हजार राइजोम रोपिए ।




0 comment